August 18, 2017

नेपाली जनता जे चाहन्छन भारत त्यहि चाहन्छ : भारतीय राजदुत 

नरेश के.सी.

२४ माघ, भैरहवा । नेपालका लागि भारतीय राजदुत रंजीत रे ले नेपाली जनताले जे चाहन्छन् भारतले त्यहि चाहना सधैं राख्ने गरेको बताएका छन् ।

नेपाल भारत अवध मैत्री समाजले आइतबार भैरहवामा गरेको सम्मानमा कार्यक्रममा बोल्दै राजदुत रे ले भने “नेपाली जनताले जे चाहना राख्छन भारतले सधैं त्यहि चाहना राख्ने गरेको छ । मेरो ३ वर्षको बसाईमा पनि नेपाल र नेपालीको हितको लागि मैले भारत सरकारको तर्फबाट सक्दो पहल गरेको छु ।”

आफ्नो ३ वर्षीय कार्यकाल सकेर राजदूत रे केहि दिन पछि स्वदेश फिर्ता हुदै छन् । राजदुत रे ले नेपालमा शान्ति र स्थायीत्वको लागि भारत सरकारले सधैं सकारात्मक सहयोग गर्ने पनि बताए । “भारतको मूल मान्यता छ की छिमेकीमा शान्ति होस, छिमेकी आर्थिक हिसाबले पनि बलियो होस ।”

राजदुत रे ले नेपालको पुर्वाधार विकासको लागि भारतले आवश्यक सहयोग गरिरहेको जनाउदैं सुनौली भैरहवा रेल वे सेवाको लागि कार्य शुरु गर्ने बताए ।

त्यस्तै कोशी रिभर नेभिगेशन जरुरी भएकोले सो को थालनी गर्ने, बुद्धिस्ट साइडको विकासको लागि लुम्बिनीलाई प्राथमिकतामा राखेर दुई देशिय कार्यक्रम अगाडी बढाउने समेत बताए ।

रे ले दुई देशिय संन्धि सम्झौता मार्फत विभिन्न कार्यक्रम चलिरहंदा ग्राउन्ड लेभलमा पनि जनस्तरबाट सो को लाभ लिनुपर्नेमा पनि जोड दिए ।

राजदुतले नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउन खुल्ला सीमानाले ठूलो भूमिका खेलेको जनाउदैं खुल्ला सीमानाकाको कसैले गलत फाइदा उठाउछ भने त्यसलाई कारबाहि गर्नुपर्नेमा जोड दिए ।

उनले सीमा क्षेत्रमा हुने समस्या समाधानको लागि एकिकृत चेंकपोस्ट तत्काल आवश्यक रहेको समेत जनाए ।