October 23, 2017

नेपाली काँग्रेसका नेता रामहरि ढुङ्गेलकाे निधन

काठमाण्डौ, ३ चैत्र ।नेपाली काँग्रेस रामेछापका महासमिति सदस्य, पूर्वसभापति एवम् पूर्व कृषि सहायक मन्त्री रामहरि ढुङ्गेलको निधन भएको छ ।

नेता ढुङ्गेलको बिहीबार डिल्लीबजारस्थित उनकै डेरामा सुतिरहेको अवस्थामा निधन भएको हो ।

विसं २०१३ सालमा रामेछापको तत्कालिन पकरवास गाविसमा जन्मिएका ढुङ्गेलले पञ्चायती व्यवस्था विरुद्ध नेपाली काँग्रेसले सञ्चालन गरेको सङ्घर्ष तथा मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

ढुङ्गेलको अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा बिहीबार पार्थिव शरीर राखिएको थियो जहाँ काग्रेसका नेताहरुले पार्टीको झण्डा ओढाएका थिए ।

लोकतन्त्रको पक्षमा क्रियाशील रहँदा उनले कयौँं पटक जेलजीवन समेत व्यतित गरेका थिए । विसं २०५६ मा भएको निर्वाचनमा उनी नेपाली काँग्रेसको तर्फबाट रामेछाप क्षेत्र नं २ बाट सांसद पदमा निर्वाचित भएका थिए ।

यसैबीच काँग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै ढुङ्गेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।