October 18, 2017

नेपालले १ वर्षपछि विद्युत निर्यात गर्न सक्ने कुलमानको दाबी

काठमाण्डौ, २२ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १ वर्ष पछि नेपालले बाहिरी मुलुकलाई विद्युत बेच्न सक्ने बताए ।

प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा मंगलबार पत्रकारहरुलाई सम्बोधन गर्दै उनले तामाकोसीबाट उत्पादन सुरु भएपछि वर्षको ६ महिना विद्युत निर्यात गर्न सक्षम भइने दाबी गरे ।

तामाकोसीले १ वर्षभित्र उत्पादन थाल्ने उनको विश्वास छ । साथै घिसिङले देशैभर ‘पिक आवर’ (बिहान ५ देखि ८ बजे र साँझ ५ देखि बेलुका साढे ८ सम्मको अवधि) को लेडसेडिङ हटिसकेको दाबी गरे । लोडसेडिङ हटाउने अभियानमा मौसमले पनि साथ दिएको उनको भनाइ छ ।

घिसिङले प्राधिकरण १ अर्ब २५ करोडभन्दा बढी नाफामा रहेको बताए । ४ प्रतिशत चुहावट नियन्त्रण भएकाले सो परिमाणमा नाफा आर्जन सम्भव भएको बताए ।