August 19, 2017

नेपालले भारतलाई दिएको फरेन्सिक रिपोर्टमा गोली एसएसबीकै भएको पुष्टि

काठमाण्डौ, ३ चैत्र । नेपाल प्रहरीको फरेन्सिक रिपोर्ट अनुसार कञ्चनपुरमा मारिएका गोविन्द गौतमलाई लागेको गोली भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै भएको देखिएको छ ।

गृह मन्त्रालयलेयो रिपोर्ट परराष्ट्र मन्त्रालयको सहयोगमा काठमाण्डौस्थित भारतीय दूतावासलाई दिएको हो । फाल्गुन २६ मा एसएसबीले चलाएको गोली लागेर गौतमको निधन भएको थियो ।

यो घटनामा भारतीय सुरक्षाकर्मी दोषी रहेको भन्दै भारतले नेपाल र नेपाली जनतासामू माफी माग्नु पर्ने नेपालका प्रमुख राजनीतिक दलहरुको माग रहँदै आएको थियो ।

यसबारे नेपाल सरकारका उच्च अधिकारीहरुले भारतीय पक्षलाई पटकपटक ध्यानाकर्षण गराएका छन् । तर, भारतले यसबारे छानविन गर्ने भन्दै फरेन्सिक रिपोर्ट दिन माग गर्दै आएको थियो ।

मृतक गौतमको शरीरमा भेटिएको गोली नेपालका कुनै पनि सुरक्षा निकायमा लाग्ने हातहतियारमा प्रयोग हुने नगरेकाले गोली एसएसबीले हानेको ठहरसहितको रिपोर्ट दिइएको गृह मन्त्रालयको स्रोतले भन्यो ।