नेपालमै पहिलो पटक लक्ष्य चण्डी रुद्रमहायज्ञ सप्तरीमा सुरु

दिनेश शर्मा/राजविराज, २८ चैत्र । नेपालमै पहिलो पटक आयोजना भएको लक्ष्य चण्डी रुद्रमहायज्ञ सोमबारदेखि सप्तरीमा सुरु भएको छ ।

मुलुकको शान्ति एवम् मानव कल्याणार्थ छिन्नमस्ता गाविस स्थित छिन्नमस्ता भगवती मन्दिर प्राङ्गणमा आयोजित १० दिने महायज्ञको ‘जीउँदो देवी’ को रुपमा मानिएकी जगत् जननी पाथिभरा देवी माताले उद्घाटन गरेकी छिन् ।

महायज्ञ स्थलमा नेपाल तथा भारतका ३ हजार ५ सय आचार्य एवम् विद्वान पण्डितद्वारा पूजापाठ, हवन, श्रीभद्भागवत एवम् श्रीदेवी भागवत कथा वाचन लगायतका कार्यक्रम सुरु गरिएको छ । महायज्ञमा भारत, हरिद्वारका चारै पीठका आचार्यहरु समेत सहभागी भएका छन् ।

करिब २१ करोड खर्च हुने अनुमान गरिएको सो महायज्ञ विश्वमै पाँचौ भएको छिन्नमस्ता भगवती मन्दिरका पीठाधिश एवम् महायज्ञ आयोजक समितिका संयोजक महाकान्त ठाकुरले बताए । उनले मुलुकमा शान्ति, प्रगति एवम् मानव कल्याणार्थ आयोजना गरिएको महायज्ञले देश र जनता सबैको भलो हुने बताए ।

महायज्ञ अवधिभर श्रद्धालु भक्तजनहरुको सुरक्षा र सुविधाका लागि ३ सयभन्दा बढी सुरक्षाकर्मी खटाइएको सप्तरीका एसपी अनुराग द्विवेदीले बताए । यस्तै मन्दिर समितिले पनि २ सय स्वयंसेवक परिचालन गरेको छ ।

नेपाल तथा भारतका हिन्दु धर्मावलम्बीमाझ ख्यातीप्राप्त यस मन्दिर प्राङ्गणमा आयोजना गरिएको १० दिने महायज्ञमा करिव ५० लाख श्रद्धालु आउने अनुमान गरिएको छ ।

छिन्नमस्ता मन्दिर संरक्षण सम्बर्धन समितिका कार्यवाहक अध्यक्ष राम नारायण यादवले भक्तजनका लागि स्वच्छ खानेपानी, शौचालय, बासस्थान लगायतका सवै व्यवस्था मिलाइएको जानकारी दिए ।

यस अवसरमा महायज्ञ अवधिभर रासलीला, कलयुग अवतार दर्शन, मिथिला साहित्य तथा विभूति प्रदर्शन, बाल उद्यान, मीना बजार सहित मेलाको समेत अयोजना गरिएको उनले बताए ।