August 21, 2017

नेपालको वित्तीय क्षेत्रको विकासका लागि विश्व बैंकको १० अर्ब ७० करोड रुपैयाँको सहयोग

काठमाण्डौ, २९ चैत्र । नेपालको वित्तीय क्षेत्रको विकासका लागि विश्व बैंकले रु १० अर्ब ७० करोड रुपैयाँको सहयोग उपलब्ध गराएको छ ।

मंगलबार अर्थमन्त्रालयमा भएको कार्यक्रममा विश्व बैंकका तर्फबाट कन्ट्रि डाइरेक्टर क्युमाओ फ्यान र अर्थसचिव शान्ताराज सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सहयोग नेपालको वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न, नेपालको मध्यावधिक पुनर्संरचना कार्यक्रमलाई सहयोग गर्न, बैंकिङ क्षेत्रमा रहेको संवेदनशीलता कम गर्न र पारदर्शीता वृद्धि गर्न प्रयोग हुने मन्त्रालयले जनाएको छ ।

सहयोग हन्तान्तरण कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदीले हाल नेपालको राजस्वको उठ्ती दर सन्तोषजनक रहे पनि अहिले मुलुकको संरचना फेरिन लागेकोले यस्ता वित्तीय सहयोगको अपेक्षा रहेको बताए ।

त्यस्तै विश्व बैंकका फ्यानले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नती हुने योजनाका साथ अगाडी बढेको नेपालमा यस्ता खालका वित्तीय क्षेत्र सुधारको ठुलो अर्थ रहने विश्वास व्यक्त गरे ।