October 19, 2017

नेपालका विश्वसम्पदा सूचीमा रहेका क्षेत्रहरुलाई खतराको सूचीमा राखिने

काठमाण्डौ, १२ चैत्र । पुनर्निर्माणमा ढिलाई भएपछि नेपालका विश्वसम्पदा सूचीमा रहेका क्षेत्रहरुलाई खतराको सूचीमा राख्ने संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा संस्कृति संगठनले जनाएको छ ।

युनेस्कोले विश्वसमपदा सूचीमा रहेका सम्पदालाई खतराको सूचीमा राख्ने जोखिम रहेको सरकारी अधिकारीहरूले नै बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका अनुसार पुनर्निर्माण प्रक्रियामा रहेका सम्पदाबारे अनुगमन गर्न युनेस्कोको एक मिसन टोली अहिले नेपालमा छ । टोलीले दिने प्रतिवेदनका आधारमा विश्वसम्पदाको समीक्षा हुने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताए ।

महानिर्देशक दाहालले भने ‘सम्पदा पुनर्निर्माणतर्फ काम नै नभएको होइन, तर जुन स्तरमा काम हुनुपर्ने थियो त्यो हुन सकेको छैन, ‘यसमा गति दिन नसक्ने हो भने युनेस्कोद्वारा खतराको सूचीमा राख्ने जोखिम छ ।

सरकारले सुरु नै गरेन, निजी क्षेत्रले बनाइसक्यो

पुरातत्व विभागका अनुसार अहिलेसम्म पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भएको सम्पदा बौद्धनाथ स्तुपा हो । यो स्तुपा मंसिर पहिलो सातादेखि सर्वसाधारणको अवलोकनका लागि खुला भइसकेको छ । पुरातत्व विभागको प्रत्यक्ष निगरानी रहनुबाहेक यसको पुनर्निर्माणमा सरकारी संलग्नता छैन् ।

निजी क्षेत्र र सरोकारवालाले नै बौद्धनाथको पुनर्निर्माण गरेका हुन् । तर, यसबाहेक अन्य सम्पदा भने सरकारी संलग्नतामा पुनर्निर्माण हुँदै छ । विश्वसम्पदासहित विभिन्न मठमन्दिर र ऐतिहासिक तथा पुरातात्विक सम्पदा पुनर्निर्माणको गतिबाट स्वयं सरोकारवाला निकाय सन्तुष्ट छैनन् । कतिपय मन्दिरका गेट, सत्तल, पाटी, छानाजस्ता संरचना निर्माण भइसकेको भए पनि मुख्य सम्पदाका मुख्य संरचनाको काम भने अगाडि बढ्न सकेको छैन ।

सम्पदाको पुनर्निर्माणको प्रगति कस्तो छ ?

हनुमानढोका दरबार संरक्षित स्मारक क्षेत्र

–गद्दी बैठक : पुनर्निर्माण कार्य आरम्भ भएको
– नौतले दरबार : अनुसन्धान भइरहेको
– काष्ठमण्डप : आवश्यक कारबाही सुरु
– गोपीनाथ मन्दिर : प्रबलीकरणको काम भइरहेको
– जगन्नाथ मन्दिर : प्रबलीकरणको काम भइरहेको
– शिवमन्दिर : अध्ययन भइरहेको
– कागेश्वर मन्दिर, हनुमानढोका महादेव मन्दिर : माथिल्लो भागको काम जारी
– दरबार क्षेत्रको काठको संकलन, अभिलेखीकरण र व्यवस्थापनको काम सम्पन्न

पाटन दरबार संरक्षित स्मारक क्षेत्र

– सुन्दरीचोक : पुनर्निर्माण सम्पन्न
–हिरण्यवर्ण महाबिहार : प्रक्रियामा
– पाटन दरबार : काम जारी
– कृष्ण मन्दिर : अध्ययन भइरहेको
– पुरानो अदालत भवन : भारत सरकारसँग छलफल जारी
– योगनरेन्द्र मल्लको सालिक पुनस्र्थापना सम्पन्न

चाँगुनारायण संरक्षित स्मारक क्षेत्र

– चौघेरा सत्तल : कार्य आरम्भ
–क्ष्मीनारायण मन्दिर : काठको काम सुरु
– शिवनारायण मन्दिर : प्रबलीकरणको काम जारी

स्वयम्भू संरक्षित स्मारक क्षेत्र

–शान्तिपुर मन्दिर : अनुसन्धान भइरहेको
–संरक्षित स्मारक क्षेत्र
–बौद्धस्तुप – कार्य सम्पन्न
भक्तपुर दरबार संरक्षित स्मारक क्षेत्र
रामेश्वर मन्दिर, बद्रीनारायणको मन्दिर र अन्य नारायणको तीनवटा मन्दिर  चालू आवमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।  सात सय ५० सम्पदा भूकम्पप्रभावित संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीका अनुसार भूकम्पबाट उपत्यकाका तीन जिल्लासहित २५ जिल्लाका सात सय ५० सम्पदा भूकम्पबाट प्रभावित भएका थिए । त्यसमध्ये एक सय ३३ सम्पदा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बाँकी सम्पदा भने आंशिक र सामान्य क्षतिग्रस्त छन् ।

बजेट र कामदार अभाव मुख्य समस्या

पुरातत्व विभागका महानिर्देशक दाहालका अनुसार सम्पदा पुनर्निर्माणका लागि मुख्य समस्या दक्ष कामदारको अभाव हो । विभागले काठमाडौंसहित गोरखा, नुवाकोट र दोलखामा काष्ठकला, प्रस्तरकला, धातुकला र परम्परागत निर्माण कार्यमा संलग्न हुने कालिगढहरूलाई सीपमूलक तालिम प्रदान गर्ने कार्यक्रम बनाएकोमा त्यसका लागि अहिलेसम्म बजेटको व्यवस्था हुन सकेको छैन । पुँजीगत खर्चतर्फ चालू आर्थिक वर्षमा पर्यटन मन्त्रालयले एक अर्ब रुपैयाँ बजेटको सहमति प्राप्त गरेको थियो । तर, अहिलेसम्म ५० करोड रुपैयाँको मात्र अख्तियारी प्राप्त भएको विभागले जानकारी दिएको छ । त्यसमध्ये फागुन मसान्तसम्म ११ करोड ५२ लाख रुपैयाँ मात्र खर्च भएको छ ।
शंकरप्रसाद अधिकारी सचिव संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय

युनेस्कोको निश्चित मापदण्ड हुन्छ, त्यो पूरा नहुने अवस्था देखिएमा सम्पदाहरूलाई उसले डेन्जर लिस्टमा राख्ने खतरा हुन्छ । त्यसकारण पुनर्निर्माणमा देखिएका समस्या हटाउँदै यसलाई गति दिनुपर्ने आवश्यकता छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।