August 21, 2017

नेपालका लागि नँया भारतीय राजदूत काठमाण्डौमा

काठमाण्डौ, १२चैत । नेपालका लागि नवनियुक्त भारतीय राजदुत मन्जिव सिंह पुरी काठमाडौं आइपुेका छन ।

शनिवार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लनु भएका राजदूत सिंहले सोमबारबाट कार्यभार सम्हाल्ने भारतीय दुतावासले जानकारी दिएको छ । सोमबार नै राजदूत सिंहले राष्ट्रपति बिद्या देवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम छ ।

राजदूत सिंह भारतीय कुटनैतिक सेवामा अनुभवी र परिपक्व अधिकारी मानिन्छन ।  निवर्तमान राजदूत रणजित रे कार्यकाल पुरा गरी दिल्ली फर्किए पछि काठमाडौको भारतीय दुतावास उपप्रमुख विनय कुमारले सम्हाल्दै आएका थिए ।

शनिबार काठमाडौको अन्तराष्ट्रिय बिमानस्थलमा नयाँ राजदूतलाई भारतीय दुतावासका कर्मचारीले स्वागत गरेका थिए  । सन् १९५९ फेव्रुअरी १५ मा नयाँ दिल्लीमा जन्मेका पुरी बेल्जियमका लागि भारतको राजदूत थिए । उनले दिल्ली विश्वविद्यालयको सेन्ट स्टेफेन कलेजबाट अर्थशास्त्रमा बिए (अनर्स)सम्मको शैक्षिक योग्यता लिएका छन ।