‘नेपथ्य’ ले कास्कीमा कन्सर्ट गरेर रजत वर्ष मनाउने

काठमाण्डौ, २६ चैत्र । नेपालको सांगीतिक क्षेत्रमा निकै चित परिचित नाम हो, नेपथ्य । लोक रक ब्यान्ड नेपथ्यले स्थापनाकालको २५ वर्ष पुग्न लाग्दा विशेष कार्यक्रम गर्न लागेको छ ।

नेपथ्यले कास्कीको दुई विद्यालयमा सहयोगार्थ शनिबार पोखरा रंगशालामा कन्सर्ट गर्दैछ । समाज र देशलाई चिनाउने शिक्षा नै भएकोले आफूहरुले विद्यालयलाई सहयोग गर्न लागेको नेपथ्यका गायक अमृत गुरुङले बताए ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको मनिमाल मावि र कास्कीकै सल्यान गाउँको भूमेश्वर प्राविको स्तर उन्नतिका लागि कन्सर्ट हुन लागेको हो ।

सन् १९९३ मा आफ्नो सांगीतिक यात्रा सुरु गरेको पोखरेली ब्यान्डले आफ्नो पहिलो एल्बम नेपथ्य निकालेसँगै यो ब्यान्ड नेपथ्यका नामले चर्चित भएको हो । यो ब्यान्डले पटक–पटक यस्ता सामाजिक कामहरु गर्दै आएको छ ।