नुवाकाेटमा ६ किलो सुन सहित एक जना पक्राउ

जगदिश खनाल /नुवाकोट, २८ साउन । अबैध रुपमा लुकाईछिपाई ल्याएको ६ किलो सुन सहित एक जनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।

चीनको केरुङबाट राजश्व छली गरी मोटरसाईकलको फल्स बटम बनाई लुकाई ल्याएको अवस्थामा ६ किलो सुनसहित रसुवाको उत्तरगया गाउपालिकाका दिपक घलेलाई नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० सिमुटारबाट नुवाकोट प्रहरीले पक्राउ गरेको हो ।

नुवाकोटका प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलका अनुसार बिशेष सुराकिको आधारमा चेकजाच गर्दा मोटरसाईकलको तेल ट्याङकीमा फल्स बटम बनाई लुकाएको अवस्थामा भेटिएको अबैध ६ किलो सुन भेटिएको हो ।

बा.५५ प ८०६७ नम्बरको पल्सर बाईकमा सुन ल्याईदैछ भन्ने थाहा पाएसँगै बिशेष निगरानी गरी पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरिक्षक कडेलले बताए  ।
चेकजाचको क्रममा सुरुवातमा सुन नभेटिए पनि फेरी चेकजाच गर्दा मोटरसाईकलको तेल ट्याङकीमा फल्स बटम बनाएको भेटेपछि त्यसमा नै सुन रहेको पाइएकोले घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।