August 22, 2017

निलम्बित एसएसपी खत्री थप चार दिन थुनामा

 

२४ माघ, काठमाण्डौ । सुन तस्करीसँग मिलेको आरोपमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई चार दिन म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले एसएसपी खत्रीलाई जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरी अनुसन्धान शुरु गरेको हो । ३३ किलो सुन तस्करीकमा संलग्न देखिएपछि उनलाई आइतबार प्रहरीले प्रधान कार्यालयबाटै पक्राउ गरेको थियो ।

सुन तस्करीमा संलग्नता देखिएपछि उनलाई माघ ३ गते प्रहरी प्रधान कार्यालयमा हाजिर गराइएको थियो ।

पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जाँच पास भएको ३३ किलो सुन गौशालाको पिंगलास्थान प्रहरीले बरामद गरेको थियो । सुन बरामद पछि प्रहरीले अनुसन्धान गर्दै जाँदा अहिलेसम्म एसएसपीसहित आठ जनालाई पक्राउ गरिसकेको छ ।

प्रहरीले सुन ल्याएका गोपालबहादुर भण्डारी, सुन लिन आएका दिलबहादुर थापा र सन्तोष काफ्ले, भन्सारका अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाल, काभ्रेका रामहरी कार्की, रेडियो टेक्निसियन श्यामकृष्ण श्रेष्ठलाई पक्राउ गरेको छ ।