निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा नयाँ शक्तिले बुझायाे १० लाख हस्ताक्षर

काठमाडौं ३०फाल्गुन । नयाँ शक्ति पार्टी, नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्थाको पक्षमा दबाव सिर्जना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० लाख नागरिकको हस्ताक्षर संकलन गरी बुझाएको छ ।

सोमबार काठमाडौंको माइतीघर मण्डलामा दबावस्वरुप एक घन्टा धर्नापछि पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले उक्त हस्ताक्षर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका हुन ।

हस्ताक्षर बुझाउनेक्रममा संयोजक भट्टराईले प्रधानमन्त्री दाहाललाई संविधान संशोधन गरेर निर्वाचनमा जानु नै उपयुक्त हुने सुझाव दिएका थिए ।  प्रधानमन्त्री प्रचण्डलाई एनसेलको कर छली प्रकरणलाई सघाउने गरी मन्त्रिपरिषदले गरेको निर्णय फिर्ता लिन पनि संयोजक भट्टराईले आग्रह गरे ।

साथै भट्टराईले कञ्चनपुर घटनाबारे छानबीन गरेर दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरे ।

हस्ताक्षर बुझाउनु अघि काठमाडौँको माइतिघर मण्डलामा १२ देखि १ बजेसम्म नयाँ शक्ति पार्टी नेपालले धर्ना सभा गरेको थियो ।