August 23, 2017

निर्वाचन तयारी बारे आयोगले सरकारलाई जानकारी गरायो

काठमाण्डौ, १७ चैत्र । निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि भएका तयारीका बिषयमा सरकारलाई जानकारी गराएको छ ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्दै निर्वाचन आयोगका पदाधिकारीले निर्वाचनको तयारीबारे ब्रिफिङ गरेका हुन् । निर्वाचन आयोगले वैशाख ३१ गते देशका ७४४ वटै स्थानीय तहमा निर्वाचन सम्पन्न गर्ने गरी सबै आवश्यक तयारी गरिसकेको आयोगका पदाधिकारीले जनाएका थिए ।

प्रधानमन्त्रीले गम्भीरताका साथ आयोग निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दै निर्वाचनको माहोल बनाउन सरकार लागि परेको र जनस्तरमा पनि निर्वाचनको माहोल बनिसकेको बताए ।

प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले प्रधानमन्त्रीले संविधानप्रति असन्तुष्ट राजनीतिक दललाई सहमतिमा ल्याउने गरी आफूले पहल गरिरहेको बताउँदै अब निर्वाचन सफल पार्न लाग्नु पर्ने बताउनुभएको जानकारी दिए ।

आयोगका पदाधीकारीले निर्वाचनका बिषयमा सबै दललाई साथमा ल्याउन प्रधानमन्त्रीसमक्ष आग्रह समेत गरेका थिए ।