August 18, 2017

निर्वाचन कार्ययोजना पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाण्डौ २० फाल्गुन ।  सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि कानून निर्माण कुन चरणमा पुगेको र निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी कार्य कसरी अगाडी बढेको भन्ने जवाफ पेस गर्न सरकारको नाममा आदेश दिएको छ ।

न्यायाधीश हरिकृष्ण कार्की र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सो बारे १० दिन भित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको हो ।

साथै, सर्वोच्चले माघ ७ गते भित्र सघीय, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने कार्ययोजना समेत पेश गर्न सरकारलाई भनेको छ । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले ०७४ माघ ७ भित्र तीनै तहको चुनाव सम्पन्न गर्ने लिखित जवाफ पठाएको समेत सर्वोच्चले आदेशमा उल्लेख गरेको छ ।

अधिवक्ता चन्द्रकान्त ज्ञवाली, लिलाधर उपाध्याय, विमल ज्ञवाली र शशी कुमार कार्कीले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो । रिटमा केन्द्र र प्रदेश संसदको निर्वाचन गराउन परमादेशको माग गरिएको थियो ।