निर्वाचन कसुर तथा सजाय विधेयक–२०७३ व्यवस्थापिका संसदबाट पारित

१७ माघ, काठमाडौं । निर्वाचन कसुर तथा सजाय विधेयक–२०७३ व्यवस्थापिका संसदबाट पारित भएको छ ।

गृहमन्त्री विमलेन्द्र निधिले सोमबारको दोस्रो बैठकमा पेश गरेको सो विधेयक सामान्य छलफलपछि पारित भएको छ । संसदबाट पारित निर्वाचनसम्बन्धी यो तेस्रो विधेयक हो । मतदाता नामावली र निर्वाचन आयोगसम्बन्धी विधेयक यसअघि नै पारित भइसकेका छन् । यस्तै राजनीतिक दलसम्बन्धी विधेयक थ्रेसहोल्ड लगायतका विषयमा सहमति नजुट्दा राज्यव्यवस्था समितिमै अड्किएको छ भने स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयक तयार नै भएको छैन।

यसअघि आजै बसेको पहिलो बैठकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण पाचौ संशोधन विधेयक(२०७३) पारित गरेको थियो । सो विधेयक वन मन्त्री शंकर भण्डारीले पेश गरेका थिए । संसदको अर्को बैठक माघ १९ गते बुधबार दिउसो ३ बजे बस्नेछ ।