August 21, 2017

निर्वाचन आयोगले भन्यो दुई नम्बर प्रदेशमा मतदान केन्द्र तोक्नै गाह्रो

काठमाण्डौ, १६ चैत्र । निर्वाचन आयोगले दुई नम्बर प्रदेशका जिल्लाहरुमा अहिलेसम्म मतदान केन्द्र तोक्न नसकेको जनाएको छ ।

तराई मधेस आन्दोलनबाट प्रभावित दुई नम्बर प्रदेशका ८ जिल्लामा मतदान केन्द्र तोक्न नसकिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

आगामी निर्वाचनका लागि मतदान केन्द्र नतोक्दासम्म मतदाता परिचयपत्रको काम अन्तिम टुंगो लगाउन नमिल्ने र मतदाता नामावलीको टुंगो नलाग्दासम्म मतदाता परिचयपत्र छपाउन नमिल्ने उनले बताए । आयोगले चैत २० गतेसम्म मतदान केन्द्र टुंग्याएर मतदाता नामावली समेत टुंग्याउने लक्ष्य लिएको छ ।

चैत २० गतेसम्म पनि मतदान केन्द्र टुंग्याउन नसके आयोगले थप निर्णय लिने प्रवक्ता शर्माले बताए । दुई नम्बर प्रदेशमा केही जिल्लामा आयोगको कार्यालय खोले पनि काम गर्न नसकेको र केही जिल्लामा कार्यालय सञ्चालन नै गर्न नसकेको आयोगले बताएको छ ।

संविधान संशोधन नगरेसम्म स्थानीय तहको चुनाव हुन नदिने मधेसी मोर्चाले चेतावनी दिँदै आएको छ ।