निर्वाचन आयाेगले भन्यो स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा तोकिएकै मितिमा निर्वाचन हुन्छ

काठमाण्डौ, १८ चैत्र । निर्वाचन आयोगले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताएको छ ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा खटिने मुलुकका चारवटै सुरक्षा निकायका लागि प्रदान गरिएको निर्वाचन र सुरक्षा विषयक प्रशिक्षण कार्यक्रममा आयोगले यस्तो  बताएको हो । प्रशिक्षणको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा मतदाता र खासगरी महिला उम्मेदवारलाई आउन सक्ने जोखिम र चुनौतीको आँकलन गरेर सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

सुरक्षा सबै नागरिकको आधारभूत आवश्यकता भएको भन्दै उनले निर्वाचनको कार्यक्रम सुरु भइसकेकोले सबै सुरक्षा निकायले तत्कालै कार्ययोजना बनाएर स्थानीय तहसम्म खटिन आवश्यक रहेको बताए । सुरक्षा निकायबाट पनि निष्पक्ष, स्वतन्त्र र तटस्थ भएर कार्यम्पादन होस् भनेर आयोगले चाहेको उनले बताए ।
आयोगका आयुक्त सुधीरकुमार शाहले पेसागत दायित्व बहन गरी एकीकृत र निष्पक्ष ढङ्गबाट कर्तव्य निर्वाह गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

प्रशिक्षणमा नेपाली सेनाका १५, नेपाल प्रहरीका २०, सशस्त्र प्रहरी बलका १५ र राष्ट्रिय अनुसन्धान विभागका छ जना अधिकृत सहभागी छन् ।

त्यस्तै रक्षा मन्त्रालय र गृहमन्त्रालयका दुई/दुई जना अधिकृत पनि उक्त प्रशिक्षणमा सहभागी छन् ।

गृहमन्त्रालयले स्थानीय तह निर्वाचनका लागि दुई लाख २६ हजार सुरक्षाकर्मी खटाउने कार्ययोजना बनाएको जनाएको छ ।