July 26, 2017

निर्वाचन आचारसंहिता जारी, आयोगले आज प्रधानमन्त्री लगायत सरकारका मन्त्रीहरुलाई जानकारी गराउदै

काठमाण्डौ, १८ फाल्गुन । निर्वाचन आयोगले वैशाख ३१ मा हुने स्थानीय तह चुनावका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ ।

आयोगले आचारसंहिता पारित गरी आजबाट लागू गरेको हो । आचारसंहितामा महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि बढीमा दुइटा चारपांग्रे हलुका सवारी साधन र दुइटा मोटरसाइकल प्रयोग गर्न पाउने उल्लेख छ ।

आचारसंहिताका अनुसार वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले प्रचारप्रसारका क्रममा एउटा चारपांग्रे हलुका सवारी साधन र एउटा मोटर साइकल प्रयोग गर्न पाउनेछन् ।

उपमहानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले प्रचारप्रसारको लागि बढीमा एउटा चारपांग्रे हलुका सवारी साधन र दुइटा मोटरसाइकल प्रयोग गर्न पाउने छन् ।

तर, त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा दुइटा घोडा प्रयोग गर्न पाउने व्यवस्था आचारसंहितामा छ । आचारसंहिताका अनुसार एउटा उम्मेदवारको नाममा स्वीकृत वा प्रयोग भएको सवारी साधन अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन पाउने छैनन् ।

आचारसंहितामा आयोगले आफनो सहमतिबिना कर्मचारीहरूको सरुवा, बढुवा, नियुक्ति र चुनावलाई प्रभाव पार्ने कुनै पनि निर्णय गर्न सरकारलाई रोक लगाएको छ ।

आचारसंहिताअनुसार आयोगले सरकारलाई विकास निर्माणका लागि नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तर गर्नसमेत रोक लगाएको छ । आयोगले आज  प्रधानमन्त्री र सबै मन्त्रीलाई बोलाएर आचारसंहिताभित्र रहेर कामकारबाहीका लागि आग्रह गर्ने भएको छ ।

अब प्रधानमन्त्री र मन्त्रीहरूले निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै निर्णय गर्न पाउने छैनन् । निर्वाचन आचारसंहिता उल्लंघन गरे आयोगले प्रधानमन्त्री, मन्त्री र उम्मेदवारलाई कालोसूचीमा राख्नेदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

आयोगले उम्मेदवारी खारेजसमेत गर्न सक्ने व्यवस्था आचारसंहितामा छ । लगातार आचारसंहिता उल्लंघन गर्नेहरूलाई आयोगले आगामी ५ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी कालोसूचीमा राख्न सक्ने व्यवस्थासमेत गरिएको छ ।