निर्वाचन आयोगले निर्वाचनको तयारी बारे प्रधानमन्त्रीलाई जानकारी गरायो

काठमाण्डौ ४ चैत्र । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका तयारीका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई पुनःसंरचित ७ सय ४४ वटा स्थानीय तहको निर्वाचनका तयारीका विषयमा जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्री दाहालसँग भएको भेटका विषयमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोगको गतिविधि तथा निर्वाचनको तयारीका विषयमा जानकारी गराउनुका साथै निर्वाचनका लागि राजनीतिक वातावरण बनाउने विषयमा छलफल भएको बताउनुभयो ।

प्रमुख आयुक्त यादवले तोकिएको समयमा निर्वाचन गर्न आयोग पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै विद्यमान अवस्थामा देखिएको असमझदारी सुल्झाउँदै मिलेर अगाडि बढ्नुपर्ने जानकारी दिनुभयो ।

आयोगको धारणा सुनिसकेपछि प्रधानमन्त्री दाहालले आफूहरुलाई विश्वस्त पारेको बताउँदै प्रमुख आयुक्त यादवले प्रधानमन्त्रीले सद्भावको विश्वसनीय वातावरण बनाउनेतर्फ आफ्नो प्रयास केन्द्रीत हुने बताएको बताउनुभो ।