June 27, 2017

निर्वाचन अयोगकाे निर्णयप्रति राष्ट्रिय जनमोर्चा असन्तुष्ट

काठमाण्डौ, ६ चैत्र । निर्वाचन अयोगले आफ्नो विधानका केही नीति बदल्न निर्देशन गरेको कुराप्रति राष्ट्रिय जनमोर्चाले असन्तुष्टि जनाएको छ ।

हरेक पार्टीका आ–आफ्ना सिद्धान्त, नीति र कार्यक्रमहरु हुन्छन् र तिनीहरु आफ्नो पार्टीका प्रतिवेदन, विधान वा घोषणपत्रहरुमा राखिएका हुन्छन् भन्दै राष्ट्रिय जनमोर्चाले प्रेस व्यक्तव्य जारी गरेको छ ।

तिनीहरु राज्यको संविधान, कानुन वा नियमहरुसँग मेल नखान सक्दछन् । त्यो सम्बन्धित राजनीतिक दलको स्वतन्त्रताको कुरा हो, प्रेस व्यक्तव्यमा भनिएको छ ।

साथै ‘निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘राजतन्त्र’ र ‘हिन्दू धर्म ’ सम्बन्धी नीतिलाई बदल्न दिएको निर्देशनलाई हामीले गलत मान्दछौं र त्यो संविधानमा व्यवस्था गरिएको अधिकारको पनि विरुद्ध छ भन्ने हाम्रो मत छ ।’ राष्ट्रिय जनमोर्चाले भन्यो ।