August 17, 2017

निर्वाचन अब चाहेर पनि कसैले रोक्न सक्दैनः पशुपति शमसेर राणा

काठमाण्डौ, ९ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमसेर जबराले संविधान संशोधनमा देखिएको लचकताले अब निर्वाचन चाहेर पनि कसैले रोक्न नसक्ने बताएका छन् ।

रफत सञ्चार क्लबमा बोल्दै जबराले मधेशका पार्टीहरुसँग सरकारले संवाद गरिरहेको र हिजोदेखि २ नम्बर प्रदेशमा समेत निर्वाचन हुने सम्भावना बढेको जानकारी दिए ।

दलहरु निर्वाचनमा होमिसकेको र संशोधन पूरा नभए पनि केही मात्रामा परिमार्जित गर्ने सहमति भएको भन्दै अब निर्वाचन नरोकिने बताएका हुन् ।

उनले प्रतिपक्षमा बसेर सरकारको आलोचना गरेता पनि राष्ट्रियताको नारा दिएर मात्र केही नहुने र मुलुकका महत्वपूर्ण विषयबाट अलग्गिएर निकास नमिल्ने भन्दै प्रतिपक्षले मधेशलाई बाईपास गरेर अगाडी बढ्न नहुनेमा जोड दिए ।

राप्रपा संशोधनको विरोधमा नरहेको भन्दै उनले संशोधनको बिषय नयाँ शिराबाट समेत सुरु गर्न सबैलाई आग्रह गरे ।

निर्वाचन आयोगले राप्रपाको एजेन्डा हिन्दु राष्ट्र र चुनाव चिन्ह झिकेर विवाद सिर्जना गरेको आरोप लगाँउदै आफ्नो पार्टी सरकार र सडकबाट आन्दोलन गर्दै स्थानीय तहको निर्वाचनमा जाने उनले बताए ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विभिन्न दलहरुले उल्लंघन गरिरहेको तर्फ आयोगको ध्यान जानु पर्नेमा उनको जोड थियो ।

आईजीपि प्रकरणमा साधारणतया कार्यपालिकाको निर्णयमा न्यायलयले हस्तक्षेप गर्न नमिल्ने भएता पनि सप्रमाण उजुरी आएको र त्यसमा न्यायालयले गरेको निर्णय जायज रहेको बताए ।