निर्वाचनको वातावरण बनाउन राजनीतिक दललाई निर्वाचन आयुक्त यादवको आग्रह

काठमाण्डौ, ४ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले गाउँगाउँमा गएर निर्वाचनको वातावरण बनाउन राजनीतिक दललाई आग्रह गरेका छन् ।

सोमबार निर्वाचन आयोगस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँग कुराकानी गर्दै यादवले मतदानको मिति नजिकिँदै गरेको अवस्थामा समेत राजनीतिक दलका चुनावी गतिविधि आशातीत रुपमा गाउँमा नदेखिएको बताए ।

लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको स्थानीय तहको २० वर्षपछि हुन लागेको निर्वाचनप्रति सबै राजनीतिक दलबाट आवश्यक रुपमा प्रचारप्रसार र मतदाता शिक्षाका लागि पहल हुनुपर्ने उनको भनाइ थियो ।

अहिले देखिएको राजनीतिक समस्यालाई अविलम्ब समाधान गर्न राजनीतिक दलका नेताहरुलाई आग्रह गर्दै डा. यादवले आयोगले अब तत्कालै निर्वाचनका लागि राजनीतिक वातावरण सहज हुनुपर्नेमा जोड दिए । उनले निर्वाचनको सुरक्षाका बिषयमा सरकार गम्भीर रहेको भन्दै आयोगको कुनै चिन्ता नरहेको जानकारी दिए ।

प्रमुख आयुक्त यादवले मुलुकका ७४४ स्थानीय तहमा यही वैशाख ३१ गते आईतबार हुने निर्वाचनका लागि अहिलेसम्म ७१ जिल्लाको मतपत्र, ६७ जिल्लाको मतदाता नामावली र ६० जिल्लाको मतदाता परिचयपत्रको छपाइको काम भइरहेको पनि जानकारी दिए ।