निर्वाचनको वातावरण बनाइदिन सरकारलाई निर्वाचन आयोगको आग्रह

काठमाण्डौ, ६ चैत्र । निर्वाचन आयोगले स्थानीय निर्वाचनको तयारी तिव्र रुपमा अगाडी बढाइएको जनाएको छ ।

बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले केन्द्रमा निर्वाचनको तयारी पूरा भएसँगै जिल्ला र स्थानीयमा राजनीतिक वातावरण बनाइदिन सरकार र सम्बन्धित दललाई आग्रह गरेका छन् ।

आयुक्त यादवले केन्द्रमा मतपत्र छपाईको काम आजबाट सुरु भएको र मतदाता नामावलीलाई चैत २० गतेसम्म अन्तिम रुप दिनेगरी काम भइरहेको बताए ।

प्रमुख आयुक्त यादवले तराई मधेस क्षेत्रमा देखिएको समस्या समाधान गरेर निर्वाचनको वातावरण बनाइदिन प्रधानमन्त्री र राजनीतिक दललाई आग्रह गरे ।

उनले दुई नम्बर प्रदेशमा देखिएको समस्याका विषयमा आयोग जानकारी रहेको भन्दै उक्त प्रदेशमा निर्वाचनको वातावरण बनाइदिन सम्बन्धित सबैलाई आग्रह गरे ।

आयोगका अनुसार सबैभन्दा बढी काठमाण्डौमा ४७ दल दर्ता भएका छन् भने मनाङमा सबैभन्दा कम ६ दलमात्र दर्ता भएका छन् ।

६७ प्रकारका निर्वाचन सामाग्रीको तयारी भइरहेको र २१ हजार मतदान केन्द्रका लागि करिब ३० हजार मतपेटिका खरिदको सम्झौता भइसकेको समेत आयोगले जानकारी गराएको छ ।