निर्वाचनको मिति सार्न दुई नम्बर जिल्ला सभापतिहरुकाे काँग्रेस पार्टी नेतृत्वलाई दबाब

काठमाण्डौ, २ वैशाख । नेपाली काँग्रेसका दुई नम्बर जिल्ला सभापतिहरुले स्थानीय तहको निर्वाचन तोकिएको मिति भन्दा १० दिन पछि सार्न पार्टी नेतृत्वलाई दबाब दिएका छन् ।

मधेशी मोर्चालाई सहमतिमै ल्याएर निर्वाचन गराउनुपर्ने जोड दिँदै आएका उनीहरुले त्यसका लागि आवश्यक परे निर्वाचनको मिति १० दिन पछि सार्न पनि नेतृत्व तयार हुनुपर्ने धारणा राखेका हुन् ।

प्रदेश नम्बर दुईका पार्टीका केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापतिहरुसँग शनिबार पार्टी कार्यालय सानेपामा भएको छलफलमा ७ वटा जिल्लाका सभापतिहरुले मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउँदा पार्टी र देश दुबैका लागि हित हुने धारणा राखेका हुन् । निर्वाचन भने एकै चरणमा सम्पन्न गर्नुपर्नेमा आफूहरुले जोड दिएको नेता रमेश रिजालले जानकारी दिए ।

नेपाली काँग्रेसका मधेश केन्द्रित नेता तथा सांसदहरुले निर्वाचनको मिति पछि सारेर भए पनि मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउनु पार्टी र देश दुबैको लागि हित हुने धारणा राख्दै आएका छन् । सरकार भने स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने भन्दै बरु २ चरणमा गर्न लचिलो भएको छ ।