निर्वाचनको मिति नजिकिँदै गए पनि सप्तरीमा चहलपहल शून्य

दिनेश शर्मा/ राजविराज, ०५ वैशाख । सरकारद्वारा घोषित वैशाख ३१ गतेको निर्वाचन नजिकिँदै गए पनि मधेश केन्द्रित दलहरुसँग राजनीतिक सहमति कायम नहुँदा सप्तरीमा भने त्यति चहलपहल छैन ।

कांग्रेस, र माओवादी केन्द्रले राजविराज लगायत जिल्लाका विभिन्न स्थानमा चुनाव लक्षित गतिविधि सञ्चालन गरिरहे पनि मधेशी मोर्चापक्षको असन्तुष्ट कारण जिल्लामा त्यति रौनक देखिँदैन । संविधानमै असन्तुष्टि जनाएर लामो समयदेखि आन्दोलनमा रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भने निर्वाचन सम्बन्धी कुनै पनि काम नगर्न निर्वाचन कार्यालय र स्थानीय तहका कार्यालयलाई चेतावनी दिएको छ ।

सप्तरीका ८ नगरपालिका र ९ गाउँपालिका गरी १७ वटै स्थानीय तहमा मोर्चाले २० दिनअघि लगाएको ताला हालसम्म कायमै छ । मधेशका माग सम्बोधन नगरेसम्म चुनाव हुनै नदिने मोर्चाका संयोजक दिनेश कुमार यादवले बताए ।

राजनीतिक सहमति हुन नसकेकै कारण निर्वाचन कार्यालयले पनि आफ्ना गतिविधि निर्वाध रुपमा अघि बढाउन नसकेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख महेशकुमार ठाकुर बताउँछन् । सप्तरीमा कुल ३ लाख ३१ हजार ४ सय ६२ मतदाता छन् ।