निर्वाचनको मिति तल माथि भए सरकारबाट हटनु पर्छ –भीम रावल

काठमाण्डौ, ७ चैत्र । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले स्थानीय तहको निर्वाचनको मिति फेरबदल गरिए प्रधानमन्त्रीले सरकारबाट हहटनु पर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार गरेको पत्रकार सम्मेलनमा उनले निर्धारित मितिमा नै निर्वाचन हुने विश्वास व्यक्त गर्दै कुनै एक राजनीतिक दलले निर्वाचनमा भाग नलिँदैमा निर्वाचन नरोकिने बताए ।

उनले निर्वाचनको मिति तल माथि भए सरकारले कुर्ची छाड्नुपर्ने बताए । सङ्घीयता चाहने दल संयुक्त मधेसी मोर्चाले नै सङ्घीयताको विरोध गरेको बताएका छन् ।
मोर्चाले भर्खरै गठन भएको स्थानीय तहको कार्यालय तोडफोड गर्नु ठीक नभएको उनले बताएका छन् ।

कार्यक्रममा नेपाली काँगे्रसका केन्द्रीय सदस्य डा. रामशरण महतले निर्वाचन र संविधान संशोधन सँगसँगै लैजानुपर्ने बताए ।

उनले निर्वाचनमा मधेसी मोर्चालाई पनि सहमत गराएर लैजानुको विकल्प नभएको पनि बताए ।

अहिले स्थानीय तहमा विवाद सिर्जना भए पुरानै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने उनको भनाइ थियो ।