निर्वाचनका लागि एक ढिक्का हुन कार्यकर्तालाई एमालेकाे अाव्हान

काठमाण्डौ, १० चैत्र । नेकपा एमालेले आफ्नो पार्टी स्थानीय निर्वाचनमा एक ढिक्का भएर जुट्ने निर्णय गरेको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटी बैठकले आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि जिल्ला , क्षेत्र , नगर र गाउँ तहमा पार्टीको निर्वाचन परिचालन कमिटी बनाउने निर्णय गरेको छ ।

बैठकमा स्थानीय चुनावको तयारीका विषयमा गम्भिर छलफल भएको बताउँदै एमाले प्रचार विभाग प्रमुख एवम् पार्टी सचिव योगेश भट्टराईले एमालेको सिंगो पार्टी एक ढिक्का भएर स्थानीय निर्वाचनमा जुट्ने निर्णय गरेको बताए ।

बैठकले निर्वाचनमा पार्टीका उम्मेदवार छनौटको निम्ति कार्यविधि र उम्मेदवारको मापदण्ड निश्चित गरेको र मतदाता शिक्षा चलाउने समेत निर्णय गरेको भट्टराईले बताए ।

निर्वाचन आचार संहिता विपरीत भएका कर्मचारी सरुवा ,बढुवा , पदस्थापन र बजेट विनीयोजन जस्ता कार्य तत्काल रोक्नपर्ने पनि बैठकले जानकारी दियो ।

त्यस्तै एमालेले २ नम्बर प्रदेशमा स्थगित भएको मेची महाकाली अभियानको कार्यक्रम छिट्टै सुरु गर्ने भएको छ ।