निगमले खरिद गर्न लागेको जहाजमा घोटाला, लेखा समितिमा पर्यो उजुरी

काठमाण्डौ, १६ फाल्गुन । नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको दुईओटा ठूला जहाज (वाइड बडी) खरिद प्रकरणमा घोटाला भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिमा उजुरी परेको छ ।

२६ सेप्टेम्बर २०१६ मा आह्वान गरेको प्रस्ताव अनुसार एयरबसको वाइड बडी विमान खरिदका लागि अमेरिकी कम्पनी एएआरस“ग सम्झौता गरेको र सम्झौता त्रुटिपूर्ण रहेको भन्दै निगमका कर्मचारीले नै लेखा समितिमा उजुरी दिएका हुन् ।

प्रस्तावमा सहभागी दशओटा कम्पनीमध्ये अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग मात्रै खरिद सम्झौता गर्नेगरी निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आर्थिक चलखेल गरेको भन्दै उजुरीकर्ताहरुले टेण्डर प्रक्रिया रोकेर कंसाकारलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

वायुसेवाले जारी गरेको टेण्डर भर्दा एएआरले कुन जहाज दिने भनेर जहाजको ‘एमएसएन नम्बर’ उल्लेख गरेको थिएन । तर पछि पोर्चुगलको कम्पनीको जहाज दिने भन्दै कंसाकारसँगको मिलेमतोमा कागजात थप गरेर टेण्डर स्विकृत गरेको उजुरीकर्ताहरुको दाबी छ ।

लेखाको उजुरी पत्रमा एएआर कम्पनीको टेण्डरमा जर्मन क्यापिटल एभिएसनको नक्कली सहिछाप लगाइएको दाबी गरिएको छ ।

एएआरले बिग्रेको जहाज मर्मत गरी बेच्ने मनसायले टेण्डर भर्दा कुन जहाज बेच्ने भनी किटान नगरेको, त्यसकारण नेपाल एयरलाइन्सले जहाजको डेलिभरी सम्झौता भएको पहिलो एक वर्षपछि र दोस्रो १८ महिनापछि डेलिभरी दिने भनी सम्झौता गर्न लगाएको पत्रमा उल्लेख छ ।