August 21, 2017

नारा लगाउदा ‘शब्द’ गलत परेकाेमा हिसिला यमीले माफी मागिन

काठमाडौ २१ चैत्र ।‘देश खारेज गर’ भन्ने नारा लगाएर विवादमा आएकी नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले पत्रकार सम्मेलन मार्फत माफी मागेकी छन ।

नयाँ शक्ति पार्टीको केन्द्रिय कार्यालय बबरमहलमा पत्रकार सम्मेलन गर्दै नेतृ यमीले निर्वाचन आयोगमा धर्ना दिने क्रममा नारा लगाउदा ‘यो आदेश खारेज हुनुपर्छ’ भन्नु पर्नेमा ‘देश खारेज गर’ भनिएछ भन्दै गलत शब्द बोलेकोमा क्षमा मागेकी हुन ।

नयाँ शक्ति पार्टी लगायतका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा ठेलमठेल हुदा अर्धमूर्छित हुन पुगेको अवस्थामा नारा लगाउदा गलत शब्द परेको उनले स्वीकार गरेकी छन । पत्रकार सम्मेलनमा यमीले मातृभूमिको अपमान गर्ने आफ्नो कुनै मनसाय नरहेको बताइन् ।

आइतबार निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा धर्ना दिने क्रममा प्रहरीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उनकी पत्नी यमी लगायतलाई पक्राउ गरेको थियो ।

नयाँ शक्ति पार्टीको अन्तराष्ट्रिय सम्वन्ध विभाग प्रमुख समेत रहेकी यमीले भनिन ‘स्थानीय निर्वाचन ऐनको यो आदेश खारेज हुनुपर्छ भन्न खोज्दा बेहोसीपूर्वक अन्यथा  भन्न पुगेछु ।’

यो परिस्थिति जन्य घटना भएको भन्दै उनले भनिन्, ‘बेहोसीमा आफ्नो देशविरुद्ध मबाट जे जस्ता शब्दहरु निस्किए, यसप्रति म अत्यन्त दुःखी छु । म अन्तरहृदयदेखि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीसँग क्षमायाचना गर्दछु ।’

‘जनजाति समुदायकी छोरी भएकोले मेरो नेपाली भाषामा राम्रो दखल छैन । त्यसैले आन्दोलनको प्रेसर, भाषागत कमजोरी र वेहोसीमा मैले आदेशलाई अन्यथा उच्चारण गर्न पुगेको हुँ । पछि साथीहरुले रोकेपछि मात्रै म होशमा आएँ र आफ्नो गल्ती महसुस गरें’  यमीले पत्रकार सम्मेलनमा भनिन ।