नवराज सिलवाललार्इ खोज्न डिफ्यूजन नोटिस जारी

काठमाण्डाै, ८ माघ ।  पूर्वडिआईजी एवम् ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित एमालेका सांसद नवराज सिलवाललाई खोज्न प्रहरी प्रधान कार्यालयले डिफ्यूजन नोटिस जारी गरेको छ ।

डिफ्यूजन नोटिस जारी भएसँगै सिलवाल प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरपोल’को मोस्ट वान्टेडको सूचीमा परेका छन् । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बढुवामा कार्यसम्पादन मूल्याङ्कन किर्ते गरेको अभियोगमा प्रहरीले उनीविरुद्ध जाहेर दर्ता गरेर खोजी गरेको थियो ।

तर सिलवाल केहि दिनदेखि फरार रहेका छन् । देशका विभिन्न ठाउँमा खोजी गर्दा फेला नपरेको भन्दै प्रहरी प्रधान कार्यालयले सिलवालविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सिलवालविरुद्ध आइतबार अपराह्न डिफ्यूजन नोटिस जारी गरिएको हो । डिफ्युजन नोटिस जारी भएपछि उनलाई अब १९२ देशका प्रहरीले नै निगरानीमा राखेर फेला पारेमा नेपाल प्रहरीलाई खबर गर्न सक्छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवालविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाएको थियो । सर्वोच्च अदालतले कासमू किर्ते भएको भन्दै सिलवाललगायत किर्तेमा संलग्न व्यक्तिलाई कारबाही गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।