नवनियुक्त भारतीय राजदूत मन्जिभ सिंह पुरी भेटवार्तामै व्यस्त

काठमाण्डौ, १५ चैत्र । नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिभ सिंह पुरीले भेटवार्तालाई तिव्रता दिएका छन् ।

उनले मंगलबार उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधी र उपप्रधानमन्त्री एवं स्थानिय बिकास मन्त्री कमल थापासँग भेटवार्ता गरेका छन् । मन्त्रीनिधीसँग गृहमन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो ।

भेटमा गृहमन्त्री निधिले नेपालमा हुन गइरहेको निर्वाचनमा तार्किक सहयोगका लागि भारत सरकारको ध्यानाकर्षण गराएका थिए । जबाफमा राजदूत पुरीले नेपालको संविधानसभा निर्वाचनका बेला पनि भारत सरकारले तर्किक सहयोग गरेको स्मरण गराउँदै आगामी निर्वाचनमा पनि सहयोग गर्ने बताए ।

सो भेटमा गृहमन्त्री निधिले नयाँ राजदूत पुरीको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै थापासँगको भेटका क्रममा आपसी परिचय, दुई देशबीचको सम्बन्ध सुधारका साथै नेपालको विकासको लागि भारतले गर्न सक्ने सहयोगका विषमया छलफल भएको भारतीय दूताबास स्रोतले जनाएको छ ।

यस्तै भेटका क्रममा नजिकिदै गरेको स्थानीय तहको चुनावका विषयमा समेत छलफल भएको बताएको छ ।

आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका पुरीले सोहि दिन कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए भने सोमबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।