October 23, 2017

नलसिङ गाड जलविद्युत् आयोजनाको अनियमितताबारे अध्ययन गर्न उपसमिति गठन

काठमाण्डौ, ६ चैत्र । नलसिङ गाड जलविद्युत् आयोजनाका बिषयमा अध्ययन गर्न संसदीय समितिले उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आईतबार बसेको व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले उक्त आयोजनाको इन्जिनियरिङ सर्वेक्षण, डिजाईन तथा वातावरणीय प्रभाव मूल्यांकन अध्ययन परामर्श दाता छनौटमा अनियमितता भएको बारे छानबिन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

निर्माणाधिन ४ सय १० मेगावाट आयोजनाको सम्भाव्यता अध्ययनका लागि परामर्श दाता छनौटमा देखिएको अनियमितता छानबिनका लागि उपसमिति गठन गर्ने निर्णय लिइएको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

समितिको अर्को बैठकले उपसमितिका सदस्यहरु चयन गर्नेछ । उपसमितिलाई एक महिना भित्र सो सम्बन्धमा छानबिन गरी प्रतिवेदन तयार पार्ने जिम्मा पनि दिइएको छ ।

समितिको बैठकमा आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरले खरिद नियमावलीको दफा ३७ अनुसार परामर्श दाता छनौट गरिएको बताए ।

बैठकमा समितिका सदस्यहरुले आयोजनाको परामर्श दाता छनौटमा आर्थिक चलखेल हुन आएको देखिएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।

नलसिङ गाड जलविद्युत् आयोजना जाजरकोटमा रहेको ४ सय १० मेगावाटको निर्माणाधिन जलविद्युत आयोजना हो ।