August 19, 2017

नयाँ संशोधन प्रस्ताव संसदमा दर्ता

काठमाण्डौ, २९ चैत्र । सरकारले मंगलबार साँझ नयाँ संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको छ ।

कानून मन्त्रालयका शाखा अधिकृत राजेन्द्र प्रसाद अधिकारीले मंगलबार साँझ ६ बजे संसद सचिवालयमा पुगी नयाँ प्रस्ताव दर्ता गराएका हुन् । मंगलबार दिउँसो नै सरकारका तर्फबाट यसअघि दर्ता भएको संविधान संशोधन विधेयक मन्त्री नायकले नै फिर्ता लिएका थिए । सोमबार अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले पुरानो संविधान संशोधन विधेयकलाई फिर्ता लिएर नयाँ संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो ।

सरकारले मधेसी मोर्चासँगको समझदारी अनुसार संविधान संशोधनको नयाँ प्रस्ताव संसद्‍मा पेस गर्ने निर्णय गरेको हो । आठ विषयमध्ये यसअघिको विधेयकमै रहेका नागरिकता, भाषा र राष्ट्रियसभाको प्रतिनिधित्वसम्बन्धी व्यवस्थालाई हुबहु राखिएको छ ।

राष्ट्रियसभा गठनका लागि बन्ने निर्वाचन मण्डलबाट स्थानीय तहका प्रमुख र उपप्रमुखको प्रतिनिधित्वलाई हटाउने र प्रदेशको सीमांकन हेरफेर गर्ने सम्बन्धमा धारा २७४ लाई संशोधन गर्ने विषय संशोधनमा थपिएका छन् ।

संशोधन विधेयकमा प्रदेशको सीमांकन हेरफेर गर्न अधिकार सम्पन्न संघीय आयोग गठन गर्ने उल्लेख छ । प्रदेश सभा गठन नहुँदासम्म त्यसको काम संघीय संसद्ले गर्ने विषयलाई संशोधनमा समेटिएको छ ।