नयाँ शक्तिसहित ६८ दलको शान्ति बाटिकामा धर्ना सुरु

काठमाण्डौ, २ वैशाख । आफ्नो दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टीसहित ६८ दलले नयाँ पार्टीका संयोजक डा. बाबुराम भट्टराईको नेतृत्वमा काठमाण्डौको रत्नपार्कस्थित शान्ति बाटिकामा रिले अनशन सुरु गरेको छ ।

लोकतान्त्रिक राज्य व्यवस्थामा दलहरुलाई दलीय चुनाव चिन्हबाट वञ्चित गरेर सरकारले तानाशाही र अलोकतान्त्रिक व्यवस्था लादेको भन्दै त्यसको विरोध स्वरुप शान्तिपूर्ण संघर्ष सुरु गरिएको डा. भट्टराईले बताए ।

हिजोको लोकतान्त्रिक आन्दोलनमा लाठी बर्साउनेहरु आज सत्ताको मुख्य अंशियार भएको तर्क गर्दै भट्टराईले प्रचण्ड नेतृत्वको सरकारले पञ्चायती व्यवस्थाबाट खोसेर ल्याएको अधिकार पुनः जनताबाट खोस्न खाेजेकाे आरोप लगाए ।

संयोजक भट्टराईले संविधानको दलीय अधिकार सम्बन्धी धारा २७० को उपधारामा दलीय प्रचारप्रसारमा व्यवधान खडा गर्ने गरी बनाइने जुनसुकै कानून र नियम स्वतः खारेज हुने व्यवस्था संविधानमा भएकोले यो चुनाव चिन्ह नदिने व्यवस्था पनि असंवैधानिक भएको बताए ।

सबैका असन्तुष्टिहरुलाई संविधान संशोधनमार्फत सम्बोधन गर्दै सबै जनता निर्वाचनमा सहभागिता हुने वातावरण नबनेसम्म देशमा शान्ति, विकास र समृद्धि हासिल हुन नसक्ने भन्दै यो आन्दोलनको लक्ष्य त्यही प्राप्त गर्ने भएको संयोजक भट्टराईले बताए ।

उनले तीन ठूला दलले देशको ढुकुटीको ब्रम्हलुट गरेको आरोप लगाउँदै चुनावको घोषणा भएयता देशभर भोजभत्तेरको श्रृंखला सुरु भएको र गाउँघरमा पैसाको खोलो बगाएको आरोप लगाए ।

त्यस्तै अनशनमा सहभागी अन्य राजनीतिक दलका नेताहरुले सम्बोधन गर्दै लोकतन्त्रको रक्षा र तीन दलीय निरंकुशताका विरुद्ध आफूहरुको शान्तिपूर्ण संघर्ष जारी रहने बताएका छन् ।