October 24, 2017

नयाँ बर्षको अवसरमा भक्तपुरमा ट्राईथोलन खेल हुने

भक्तपुर, २२ चैत । नयाँ बर्षको अवसरमा भक्तपुरमा ट्राईथोलन खेल सञ्चालन हुने भएको छ । भक्तपुर ट्राइथोलन संघले खेल क्षेत्रबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ उक्त खेल सञ्चालन गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

बिस्केटको रौनकतासँगै नयाँ वर्षलाई स्वागत गर्नका साथै खेल क्षेत्रबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ उक्त खेल सञ्चालन गर्न लागिएको संघका उपाध्यक्ष कृष्ण भक्त दुवालले जानकारी दिए ।

खेलका बारे जानकारी दिँदै अन्तर्राष्ट्रिय ट्राईथोलन युनियन प्राविधिक धनेश प्रजापतिले उक्त खेल आयोजना दौड र साईकल चलाउँदै र पौडी खेलेर खेलिने खेल भएता पनि दुई विधालाई मात्र समावेश गरेर उक्त खेल सञ्चालन गर्न लागिएको जानकारी दिए ।

उक्त खेल भक्तपुरमा पहिलो पटक सञ्चालन गर्न लागिएको र झण्डै तीन सय भन्दा बढि खेलाडीको सहभागिता हुने आयोजकले जानकारी दियो ।

उक्त खेलमा प्रथम हुनेलाई १० हजार द्वितीय हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार राशीको पुरस्कार प्रदान गरिने छ । खेलमा दुई जना ईमर्जीङ खेलाडीलाई ५–५ हजार राशीको पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

उक्त खेलमा सञ्चालनका लागि ३ लाख खर्च लाग्ने र उक्त खर्च विभिन्न खेल प्रेमीहरुबाट संकलन गरिएको आयोजकले जानकारी दिएको छ ।