October 23, 2017

नयाँ गाउँपालिका र नगरपालिकामा भ्रमणको व्यवस्था मिलाउन सरकारलाई निर्देशन

काठमाण्डौ, ८ चैत्र । व्यवस्थापिका संसदको विकास समितिले नयाँ गाउँपालिका र नगरपालिकामा भ्रमणको व्यवस्था मिलाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले केही स्थानीय तहहरुको छनोट गरी स्थलगत अवलोकन अध्ययन भ्रमण गर्न आवश्यक देखिएकोले सोको व्यवस्थापन गर्न स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले स्थानीय तह पुनर्संरचनापछि निर्वाचन क्षेत्रमा समेत परिवर्तन भएको भन्दै निर्वाचन क्षेत्रमा विकास कार्यक्रमको बजेट खर्च गर्न अन्योल देखिएको बताएको छ ।

समितिले त्यस्तो अन्योल हटाउन १५ दिनभित्र काम गरिसक्न पनि निर्देशन दिएको छ ।

१५ दिनभित्र स्पष्ट कार्यविधि बनाउन तथा आगामि आर्थिक वर्षबाट वार्षिक बजेट निर्माण गर्दा स्थानीय तह र प्रदेशलाई कार्यक्रम तथा बजेट एकमुष्ट पठाउने व्यवस्था गर्न समितिले निर्देशन दिएको सभापति रवीन्द्र अधिकारीले जानकारी दिए ।

बैठकमा उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले नयाँ संरचनाअनुसार बनेका स्थानीय तहको केन्द्र बैशाख ३१ गतेको निर्वाचनपछि मात्रै परिवर्तन हुने बताए ।

उनले सरकार आन्दोलनरत मधेस केन्द्रित दलहरुलाई पनि सहमतिमा ल्याएर निर्वाचन गर्ने तयारीमा रहेको बताए ।

समितिले स्थानीय तहको कार्य प्रारम्भ गर्ने क्रममा तथा आगामि दिनमा कार्य सञ्चालनका लागि कुनै किसिमबाट आर्थिक अभाव हुन नदिने व्यवस्था मिलाउन पनि अर्थ मन्त्रालयलाई निर्देशन गरेको छ ।

यस्तै बैठकले स्थानीय तह गठनपछि विगतमा स्थानीय निकायले दिएका सेवा विस्तार तथा प्रभावकारी बनाउन १५ दिनभित्र प्रदेशगत रुपमा कर्मचारीलाई अभिमुखीकरण गराउन समेत निर्देशन दिएको छ ।