October 23, 2017

नगर विकास कोषमा सरकारले गरेको राजनीतिक नियुक्ति विरुद्द आन्दोलनको  चेतावनी

 

काठमाडौ ५ चैत्र । नगर विकास कोषको सञ्चालक समितिको अध्यक्षमा राजनीतिक नियुक्ति गर्न लागेको भन्दै कोषका कर्मचारीले आन्दोलन गर्ने तयारी गरेका छन् ।

आज कोषकै कार्यालयमा पत्रकार सम्मेलन गर्दै नगर विकास कोष स्वतन्त्र कर्मचारी यूनियनले सहरी विकास मन्त्रालयका सचिव अध्यक्ष रहने व्यवस्था रहँदारहँदै राजनीतिक नियुक्ति गरि निर्माण व्यवसायी (ठेकेदार) ध्रुब रिजाललाई अध्यक्षमा नियुक्ति गर्ने सरकारको निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन ।

उनीहरुले कर्मचारीको र दातृ निकायको हीत विपरित सरकारको निर्णय आए नयाँ अध्यक्षलाई कोषमा प्रवेश निषेध गर्नेसम्मको कार्यक्रम बनाएको बताएका छन् ।

सरकारले मन्त्री परिषद्को बैठक बसी गत फागुन ९ गते नै प्रतिष्ठा कन्ट्रक्शन प्रालिका प्रबन्ध निर्देशक ध्रुब रिजाललाई कोषको अध्यक्षमा नियुक्त गरेको थियो ।

तर, कर्मचारी र सम्बन्धित निकायहरुको दबाबकै कारण हालसम्म कार्यान्वयनमा आउन भने सकेको छैन । पत्रकार सम्मेलनमा यूनियनका अध्यक्ष जगतप्रसाद घिमिरेले २९ वर्ष अघिदेखि कोषको अध्यक्ष सहरी विकास मन्त्रालयको सचिव रहि आएकोमा हाल सरकारले कोषलाई भर्तिकेन्द्र बनाउँदै कोषलाई आर्थिक एवं सांगठनिक हिसावले कमजोर बनाउने उद्देश्यले प्रचलित नियम/कानूनको खिलापमा निर्णय गरेको भन्दै आफूहरुले आन्दोलनको तयारी गरेको बताए ।

यूनियनका सदस्य सुभाष पन्तले सरकारको यस निर्णय विरुद्धमा कोषमा रहेको ४० जना (सबै) कर्मचारीहरुले हस्ताक्षर गरेको, जर्मन सरकारका तर्फबाट दातृसंस्था जर्मन विकास बैंक, नेपाल नगरपालिका संघ र राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघलगायतका संघसंस्था र सरोकारवाला निकायले समेत विरोध जनाएको बताए । उनले मन्त्रीपरिषद्ले गरेको निर्णय तत्काल फिर्ता गर्न र कोषलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्न अनुरोधसमेत गरेका छन् ।