नक्कली ड्राइभिङ लाइसेन्स बनाउने दुई जना पक्राउ

राम कुशवाहा/ वीरगंज ६ साउन । सरकारी कागज तथा छाप किर्ते गरी नक्कली चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न भएको अभियोगमा पर्सा प्रहरीले एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहार रक्सौलको जोखियाडी निवासी दीपक ठाकुर र वीरगन्ज महानगरपालिका– ११ श्रीपुर निवासी उमेश चौधरीलाई सो अभियोगमा संलग्न भएको आरोपमा पक्राउ गरेकाे हो ।

विशेष सूचनाको आधारमा बिहीबार बेलुका रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका दीपक र उमेशलाई रजतजयन्ती चोकमा रोकी जांच गर्दा सवारी चालक अनुमति पत्र बनाउन प्रयोग हुने सामग्री बरामद भएकाले अनुसन्धानका लागि दुबै जनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिए ।

छानबिनका क्रममा दीपक र उमेशबाट विभिन्न व्यक्तिको लाइसेन्स चार थान, होलो ग्राम स्टिकर ६ थान, विभिन्न व्यक्तिको फोटो ३८ थान, राजश्व तिरेको रसिद पांच थान, तयार भएको नक्कली लाइसेन्स एक थान, विभिन्न व्यक्तिको नागरिकताको फोटोकपि चार थान लगायतका सामग्री बरामद गरिएकाे छ ।

पक्राउ परेका दीपक सरकारी कागज तथा छाप किर्ते मुद्दामामा एक वर्ष कैद भुक्तान गरेका व्यक्ति हुन् । पक्राउ परेका दुबैअभियुक्तका सम्बन्धमा अनुसन्धान भइरहेको र तीनलाई सरकारी कागज किर्ते सम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।

उनीहरुले वीरगन्जस्थित नारायणी अञ्चल यातायात व्यवस्था कार्यालयमा लेखापढी व्यवसायीको काम गर्दै आएका थिए ।