October 19, 2017

नक्कली एटीएम कार्ड प्रयोग गरेर ठग्ने गिरोह पक्राउ

काठमाण्डौ, ८ चैत्र । नक्कली एटिएम कार्ड प्रयोग गरी  रकम झिक्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले राजधानीका विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा केवलबहादुर जबरा, अभिषेक पाण्डे, सुरेश केसी, अनुज नकर्मी, रोशन महर्जन लगायत छन् ।

उनीहरुले नबिल बैंकको एटिएम बुथबाट अहिलेसम्म करोडौं रकम झिकेको प्रहरीको भनाइ छ । यसरी झिकेको रकम विलासी वस्तु किनेर खर्च गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यसअघि पनि केन्द्रीय अनुसन्धान ब्युरोले अरुको एटिएम कार्डबाट रकम झिक्ने ९ विदेशी नागरिकलाई पक्राउ गरिसकेको छ ।