धनगढी प्रिमियिर लिग (डिपीएल) को तयारी पूरा

धनगढी, २४ चैत्र । सगरमाथा सिमेण्ट धनगढी प्रिमियर लिगको सम्पुर्ण तयारी सम्पन्न भएको छ । आयोजकले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको बताएको छ ।

क्रिकेटलाई अझ योजनाबद्ध र व्यवसायिक हिसाबले लैजानको लागि धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदुरपश्चिमाञ्चल ऐकेडेमी (एसपीए) को नयाँ योजनाका साथ शहरहरु केन्द्रित लिगको तयारी सकिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।

केही टिमहरु धनगढी आईसकेका छन् भने केही टिमहरु धनगढी आउने क्रम जारी छ । अध्यक्ष शाहीले भने, ‘मैदान तथा पीच निर्माण सम्पन्न भइसकेको छ । म्याच अफिसियलहरु पनि धनगढी आइपुगेका छन् ।’

विभिन्न शहरका टोलीहरुलाई फ्रेन्चाईज गरेर चैत २७ देखि बैशाख ०९ सम्म आयोजना गर्न लागिएको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको तयारी सकिएको हो । यो लिग नेपाली क्रिकेटको विकेन्द्रीकरण र व्यवसायिक पाइलामा नयाँ आयाम हुने आयोजकले जनाएको छ ।

देशभरिका विभिन्न ६ शहरबाट टिम छनोट गरिएको छ । जसमा कप्तानको टुंगो लक्की ड्र बाट गरिएको हो । उनीहरुले समान १ लाख ५० हजार पारिश्रमिक पाएका छन् । ती बाहेक अन्य खेलाडीहरुले अक्सनमा रकम बोलकबोल गरेर १ लाख रुपैयाँसम्म रकम पाएका छन् ।

प्रतियोगितामा सीवाईसी अत्तरियाको कप्तानी ज्ञानेन्द्र मल्ल, विराटनगर किङ्सको कप्तानी शरद भेषावकर, काठमाण्डाै गोल्डेन्सको कप्तानी बसन्त रेग्मी, रुपन्देही च्यालेन्जर्सको शक्ति गौचन, कञ्चनपुर आइकोनिकको विनोद भण्डारी र टिम चौराहा धनगढीको कप्तानी पारस खड्काले गर्नेछन् ।

प्रतियोगिताको विजेतालाई रु १५ लाख र उपविजेतालाई रु ७ लाख रुपैयाँ तथा ट्रफी प्रदान गरिनेछ । नेपाली क्रिकेटमा यो हालसम्मकै सबैभन्दा ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हो ।

प्रत्येक खेलका वेल्स क्याफे म्यान अफ द म्याचले रु १० हजार तथा म्यान अफ द सिरिजले टिभीएस आरटीआर २०० अपाचे मोटरसाईकल पाउनेछन् ।

प्रतियोगिताको पुरस्कार राशीमा मात्र २७ लाख रुपैया खर्च हुने धनगढी क्रिकेट एकेडेमीका निर्देशक महेश शाहले बताए ।प्रतियोगितामा दर्शकहरुका लागि टिकट दर रु ३०, ५०, ८० र  १०० रहनेछ ।