August 24, 2017

धनगढी प्रिमियर लिग (डिपिएल)अन्तर्गत बिराटनगर किङ्स बिजयी

धनगढी, २९ चैत्र । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत मंगलबार भएको पहिलो खेलमा विराटनगर किङ्स बिजयी भएको छ । बिराटनगरले धनगढी टिम्स चौराहलाई २३ रनले हराएको हो ।

सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा बिहान भएको खेलमा टस हारेर ब्याटिङ गरेको बिराटनगरले ६ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

उसका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४६ रन बनाए । अनिल शाहले २८, प्रनित थापा मगरले २१, अमित श्रेष्ठले १९ तथा आशिफ शेखले १० रन बनाए । धनगढीका लागि ललीत राजवंशीले १ तथा आरिफ सेख, रामनरेश गिरी र सुसन भारीले १/१ विकेट लिए ।

जितका लागि १ सय ३५ रनको लक्ष्य पछ्याएको धनगढी टिम्स चौराहाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो । धनगढीका अमर रौटेलाले २६ तथा अनिल मण्डलले २४ रन बनाए । राजु रिजाल १३ रनमा आउट भए । पारस खड्काले २ तथा आरिफ शेखले एक रन मात्र बनाउन सके ।

बिराटनगरलाई जिताउन कप्तान शरद भेषवाकर र सुसिल कडेलले ३/३ विकेट लिए । त्यस्तै जितेन्द्र मुखिया २ तथा दिपेन्द्र ऐरीले १ विकेट लिए ।