October 23, 2017

धनगढी प्रिमियर लिगकाे च्यारिटी खेलमा नेपाल–११ विजयी

काठमाण्डौ, २७ चैत्र । धनगढी प्रिमियर लिग अन्तर्गत अाईतबार धनगढी–११ र नेपाल–११ बीच भएकाे च्यारिटी  खेलमा नेपाल–११ ३१ रनले विजयी भएको छ ।

टस जितेर ब्याटिङ गरेको नेपाल–११ ले २० ओभरमा १ सय ६१ रनको योगफल तयार गरेको थियो । उसका लागि कप्तान पारस खड्काले ६८ र बसन्त रेग्मीले ४३ रनको सानदार पारी खेले । १ ओभरमा २ विकेट गुमाएको नेपाल–११ लाई पारस खड्का र बसन्त रेग्मीको ८३ रनको साझेदारीले इनिङ उकास्न मद्दत गरेको थियो ।

धनगढी–११ का बलर बि ठगुन्नाले ४ विकेट लिए भने एस भण्डारी र केसी पदमले समान १–१ विकेट लिए ।

१ सय ६२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ्मा उत्रेको धनगढी–११ ले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन मात्र बनाउन सक्याे । धनगढी–११ लाई सस्तैमा समेट्न शक्ति गौचनले ३ तथा सोमपाल कामीले २ विकेट लिए । त्यस्तै मेहबुब आलम, सन्दिप लामिछाने र अभिनाश कर्णले समान १–१ विकेट लिए ।