August 23, 2017

द्रुत मार्ग छिटो सुरु गर्न सासंदहरुको माग

काठमाण्डौ, ११ फाल्गुन । काठमाडौँ–निजगढ द्रुत मार्गको काम छिटो हुनुपर्नेमा सासंदहरुले जोड दिएका छन् ।

सिंहदरबारमा बुधबार बसेको संसदको सार्वजनिक लेखा समिति बैठकमा उनीहरुले द्रुत मार्गमा यस वर्ष छुट्याएको बजेट समेत अहिलेसम्म खर्च हुन नसकेकोमा दुख व्यक्त गरे ।

सांसद विष्णु पौडेलले यसअघि संसद्ले पारित गरेको नीति कार्यक्रम र बजेट वक्तव्यअनुसार काम अघि बढ्नुपर्ने बताए । आयोजनाको लागत मूल्याङ्कन बढी भएको विषयमा कुरा उठिरहेकाले यसतर्फ गम्भीर हुन पौडेलले सरकारसँग माग गरे । सांसद राजन केसीले बजेट रु ९६ अर्बबाट रु एक खर्ब १२ अर्ब बनाइनु आपत्तीजनक भएको टिप्पणी गरे । सांसद रामहरि खतिवडाले नेपालका राजमार्गलाई प्रयोगशाला बनाएर बिपी राजमार्ग जस्तो द्रुत मार्गको अवस्था आउन दिन नहुनेमा जोड दिए ।

सरकारले आव २०६५/०६६ देखि राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त आयोजनाका रुपमा द्रुत मार्गको काम अघि बढाएको थियो । हालसम्म नेपाली सेनाले ११० किमी ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ । भारतीय कम्पनीले विस्तृत परियोजना प्रस्ताव पनि तयार पारेको छ । चालु आवको सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक बर्ष देखि आफ्नै लगानीमा काम सुरु गर्ने उल्लेख गरिएको छ ।

समिति सभापति डोरप्रसाद उपाध्यायले छलफलपछि द्रुत मार्गका विषयमा अर्को बैठकमा फेरि छलफल गरेर ठोस निर्णय गरिने जानकारी दिए ।