October 23, 2017

दोस्रो खेलमा काठमाण्डौ गोल्डेन्स २४ रनले विजयी

धनगढी, २९ चैत्र । डिपिएल अन्तर्गत आज भएको दोस्रो खेलमा काठमाण्डौ गोल्डेन्सले कञ्चनपुर आइकोनिकलाई २४ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको गोल्डेन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो । उसका लागि भुवन कार्कीले १४ बलमा ३६ रनको आक्रामक पारी खेलेका थिए ।

कञ्चनपुरको तर्फबाट अभिनाश कर्णले ३ विकेट लिए भने कमलसिंह ऐरी, कुशल भुर्तेल, सुनिल धमला र सोनु तामाङले समान १–१ विकेट लिए ।

१ सय ४८ रनको मध्यमस्तरीय लक्ष्य पछ्याएर मैदानमा उत्रिएको आइकोनिकले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा जम्मा १ सय २३ रन बनाउन सक्यो । आइकोनिकलाई कम स्कोरमा रोक्न बसन्त रेग्मी र सन्तोष भट्टले २–२ विकेट लिए ।

त्यस्तै सोमपाल कामी, मन्जित श्रेष्ठ र सन्दीप झोराले समान १–१ विकेट लिए । खेलको म्यान अफ द म्याच काठमाण्डौ गोल्डेन्सका भुवन कार्की भए ।