October 23, 2017

देश कसले चलाई रहेको छ ?

काठमाण्डौ, १२ चेत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैलाई पनि कार्यबाहक नदिई चिन भ्रमणमा निस्केपछि देश कसले चलाइरहेको छ भन्ने प्रश्न पेचिलो बनेको छ ।

प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सरकारको दैनिक कामकारवाही सञ्चालनार्थ मन्त्रिपरिषद्का वरिष्ठ सदस्यलाई कार्यवाहक दिने परम्परा थियो । तर यो पटक प्रधानमन्त्रीले कसैलाई पनि कार्यबाहक नतोकी चीन गएका टन् । कार्यवाहक प्रधानमन्त्रीलाई विशेष सुरक्षा ‘स्कर्टिङ’ सहितको सुविधा दिइन्छ ।

प्रधानमन्त्री विदेश भ्रमण उडेलगत्तै कार्यवाहकलाई विमानस्थलबाटै प्रधानमन्त्रीकै हैसियतमा स्कर्टिङ गरिन्छ । बिहीबार दाहाल चीन जाँदा पनि ‘स्कर्टिङ व्यवस्था गरी विमानस्थलमै पठाइएको थियो तर त्यत्तिकै फर्काउनु पर्यो । प्रधानमन्त्री दाहालले कार्यबाहक नतोकेसँगै मन्त्रिपरिषदमा मर्यादाक्रमलाई लिएर उत्पन्न विवाद पनि सतहमा आएको छ ।

दाहालले यसअघि युएई र भारत जाँदा कांग्रेसबाट सरकारको नेतृत्व लिएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्रीमा ल्याएपछि मन्त्रिपरिषदमा मर्यादाक्रमको विवाद चुलिएको हो ।

निधिले यसअघि दुईपटक कार्यवाहक पाएको र संसद्को ठूलो दलको हैसियतले आफूले नै दोस्रो मर्यादाक्रम पाउनुपर्ने दाबी गर्दै आएका छन् । थापाले भने आफू निधि अघि नै उपप्रधानमन्त्री भएकाले प्रधानमन्त्री पछिको मर्यादाक्रम आफ्नो भएको जिकिर गरेका छन् ।

प्रधानमन्त्रीको अनुपस्थितमा तत्काल केही घटना भएर मन्त्रिपरिषद् बैठक बस्नु पर्ने अवस्था आएमा के गर्ने भन्नेबारे उत्तिकै अन्योल छ । देश नेतृत्वविहीन देखिएको चिन्ता गर्ने पनि उत्तिकै छन् । ‘हुलाकको जमाना होइन यो, जहाँबाट जहाँको काम गर्न पनि प्रविधिले सजिलो बनाएको छ,’ उर्जा मन्त्री जनार्दन शर्माले भने । केही दिनअघि संसद् बैठकमा उपप्रधानमन्त्री थापा प्रधानमन्त्रीपछिको कुर्चीमा बसेका थिए । मर्यादाक्रम विवादकै कारण बालुवाटारमा प्रमुख दलको बैठकमा समेत निधि उपस्थित हुन छाडेका थिए ।

स्रोतका अनुसार दाहालले चीन भ्रमणमा जाँदा उनलाई कार्यवाहक दिने आश्वसन दिए पनि विवादकै कारण निर्णयमा पुग्न सकेनन् ।

स्वंय कांग्रेसकै सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष थापालाई सरकारमा ल्याउँदा नै दोस्रो मर्यादाक्रम दिने आश्वासन दिएको उर्जामन्त्री शर्माले बताए । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।