August 19, 2017

देशभरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्यमन्त्रीकाे प्रतिवद्धता

रौतहट, ११ चैत्र । नेपाली नागरिकलाई आफ्नै मुलुकमा पर्याप्त र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ रौतहटको गौरमा निःशुल्क साताव्यापी सघन स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ ।

स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा रौतहटको गौरमा भइरहेको निःशुल्क साताव्यापी सघन स्वास्थ्य शिविर अवलोकनपछि देशै भरी थप कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।

चिकित्सक तथा स्वास्थ्यकर्मी, औषधी र उपकरणहरु गाउँ गाउँ पठाई सकिएको बताउँदै उनले आकस्मिक शल्यक्रिया सहितको सेवा जिल्ला अस्पतालबाट सुरु गराउन लागिएको उनले बताए ।

गत ८ गते देखि सुरु भएको निःशुल्क सघन स्वास्थ्य शिविरमा पाठेघरको समस्या, हाइडोशील, हर्निया, फेस्टुला, बासिर, भगन्दर लगायतका रोगहरुको शल्यक्रिया मार्फत् उपचार सेवा दिइएको छ । शुक्रबार सम्म ४२४९ जनाको स्वास्थ्य परिक्षण गरिएको छ भने ७७ जनाको शल्यक्रिया गरिएको छ ।

शुक्रबार मात्रै ४ सय ३ जना पुरुष र ४ सय २४ जना महिला गरी ८ सय २७ जनालाई स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी पनि वितरण गरिएको नेपाली सेनाका कर्नेल दिपक अधिकारीले बताए ।

आयोजकका अनुसार स्वास्थ्य मन्त्रालय र नेपाली सेनाका गरी ३० जना चिकित्सक सहित एक सय भन्दा बढी स्वास्थ्यकर्मीहरु शिविरका लागि खटिएका छन् ।

आगामी १४ गते सोमबार सम्म हुने स्वास्थ्य शिविरमा मोवाइल हस्पीटल मार्फत् ५० बेड क्षमताको अस्पतालले दिने सुविधा दिइएको छ भने विभिन्न सरकारी अस्पतालका श्रोतसाधनहरुको पनि प्रयोग गरिएको छ ।