देवी प्रसाद ओझा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक मञ्च  र नयाँ शक्ति पार्टीबीच एकीकरण

काठमाडौं  २४ फाल्गुन । नेकपा एमालेका पूर्व नेता तथा पूर्वमन्त्री देवी प्रसाद ओझाले नेतृत्व गरेको राष्ट्रिय लोकतान्त्रिक मञ्च र नयाँ शक्ति पार्टी बीच एकीकरण भएको छ ।

मंगलबार नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राष्ट्रिय लोकतान्त्रिक मञ्चका संयोजक देवी प्रसाद ओझाले संयुक्त वक्तव्य जारी गरी एकीकरणको घोषणा गरेका छन ।

ओझासँगै  मञ्चका केन्द्रीय कार्यसमिति सदस्यहरु धनानाथ ओझा, प्रा. डा. विदुर प्रसाद उपाध्याय, डा. गोविन्द प्रसाद ओझा, डा. रामदेव प्रसाद शाह, टुंग राज पाठक, गोपाल श्रेष्ठ, यादव प्रसाद पाण्डे, अम्बिका उपाध्याय, विष्णु प्रसाद घिमिरे (ध्रुव), विप्लव ओझा, नरेन्द्रराज पाठक, वेद प्रसाद घिमिरे, हेमराज काफ्ले , किशोर ओझा, मणिराम भण्डारी, नसार अहम्मद, सरिता खतिवडा, राम नारयण पासवान, लक्ष्मी राजवंशी, सरस्वती सिवाकोटी, कृष्ण रिजाल, सबिता पोखरेल, भिम आचार्य, शम्भु प्रसाद गौतम, गणेश ओझालगायतका नेताहरु नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन ।
एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्तिले बृहत राष्ट्रिय एकतालाई मजबुद बनाउने बताउँदै देशको जातीय, क्षेत्रीय, विविधतालाई सम्बोधन गर्दै हिमाल, पहाड, तराई, मधेशको एकता नभएसम्म मुलुक सभ्य र समृद्ध हुन नसक्ने बताए । नयाँ शक्तिको सुत्र वाक्य ५ सले मुलुकको सच्चा राष्ट्रियता कायम गर्दै देशलाई समृद्धिको शिखरमा पुर्याउने उनले दावी गरे ।

को हुन ओझा ?


२०४६ सालको जनआन्दोलन पछि नेकपा एमालेमा रहेर राजनीति गरेका ओझा २०४८ सालको आम निर्वाचनमा झापाबाट सांसद निर्वाचित भएका थिए ।  २०५१ को मध्यावधि चुनावमा पनि सांसद् निर्वाचित भएपछि नेकपा एमालेको तर्फबाट २०५४ मा शिक्षामन्त्रीसमेत भए । २०५६ को आम चुनावताका नेकपा एमालेमा भएको औपचारिक विभाजनसँगै  नेकपा मालेमा लागेका ओझाले मालेको केन्द्रीय नेताको रुपमा पनि काम गरे । त्यसपछि २०५९ सालदेखियता पार्टीगत राजनीतिबाट निश्कृय रहे  ।
अखिलको कार्यकर्ताहुँदै नेपालको वामपन्थी आन्दोलनमा प्रवेश गरेका ओझाले तीन दशक सक्रिय राजनीतिमा बिताए  र पछिल्लो दसकमा भने समकालीन नेपाली समाजको अध्ययनमै बिताए । नेपालको बामपन्थी आन्दोलनसँगै शिक्षक आन्दोलनमा सक्रिय रहेका ओझाले पटकपटक जेल जीवन र प्रहरी हिरासत भोगेका छन ।