August 22, 2017

देउवा र चिनिया राजदुत बिच भेटघाट

काठमाण्डौ, १० फाल्गुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि चिनिया राजदुत यु होङलेबिच शिष्टाचार भेटघाट भएको छ ।

मंगलबार देउवा निवासस्थान बुढानिलकण्ठमा भएको भेटमा नेपाल र चीन बिचको आपसी सहयोग र सदभावपूर्ण सम्वन्ध तथा समसामयिक विषयमा छलफल भएको मुख्य सचिव कृष्णप्रसाद पौडेले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भेटघाटका अवसरमा राजदूत होङले नेपालमा स्थानिय तहको निर्वाचनको मिति घोषणा भएकोमा खुशी व्यक्त गर्दै नेपालमा पर्यटन, कृषि, विद्युत लगायतको क्षेत्रमा विकासका लागि सहयोग पुर्याउन चीन इच्छुक रहेको धारणा राखेका थिए ।

उक्त अवसरमा सभापति देउवाले आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष रहेकोले स्थानीय तहको निर्वाचन गरिनु अपरिहार्य रहेको र संविधान संशोधनका लागि संसदमा पेश भएको संशोधन प्रस्ताव पारित हुने र तराई केन्द्रित दलहरुको भावना समेत सम्वोधन हुने बताएका छन् ।

देउवाले नेपालको विकासमा चीन सरकार र त्यहाँका जनताबाट प्राप्त सहयोग र सद्भावको प्रशंशा गरेका थिए ।