दुर्गम क्षेत्रमा हेलिकप्टर यातायातको उपयुक्त साधन हुने सरोकारवालाहरुले जोड

काठमाण्डौ, १ वैशाख । नेपालका दुर्गम गाउँहरुका जनताको यातायातका लागि हेलिकप्टर उपयुक्त साधन भएकाले यसका सेवा विस्तार गरिनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

ईटलीमा निर्मित लियोनार्दो हेलिकप्टरको सफल परीक्षणपछि काठमाण्डौमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले यस्तो जोड दिएका हुन् । कार्यक्रममा विमान चालकको अनुभव समेत हासिल गरेका मन्त्री जीवनबहादुर शाहीले गाउँगाउँमा हेलिकप्टर बिस्तार गर्ने सरकारको योजना रहेको जानकारी दिए ।

मन्त्री शाहीले नेपालका ग्रामिण पर्यटन स्थलको विकास र प्रबर्द्धनका लागि पनि हेलिकप्टर उपयुक्त माध्यम हुने धारणा राखे ।

ईटलीमा निर्मित लियोनार्दो हेलिकप्टरले नेपालका ८ हजार मिटर भन्दा अग्ला सगरमाथा, अन्नपूर्ण, धौवलागिरी लगायतका हिमालका आधार शिविर सम्मको उडान सम्पन्न गरेको हो । परीक्षण उडानमा नेपाल चीन र भारतका पर्यटन व्यवसायीको समेत सहभागीता रहेको आयोजक अल्टीच्युड एयरले जनाएको छ ।

नेपालमा ७२ पटक सम्म भ्रमण गरिसकेका तथा विभिन्न हिमालको आरोहण समेत गरेका ईटलीका चालकहरुले उक्त हेलिकप्टर ३ हप्तासम्म नेपालका उक्त हिमालको आधार शिविरसम्म उडाएका थिए ।

कार्यक्रममा अल्टीच्युड एयरका अध्यक्ष ल्याक्पा शेर्पा , प्रबन्ध निर्देशक फुर्वा शेर्पा लगायतले नेपालको पर्यटन क्षेत्रको विकासका लागि हेलिकप्टर उपयुक्त साधन हुने धारणा राखेका थिए ।