August 23, 2017

दुई व्यापारीको घरमा बम फेला

दिनेश शर्मा

राजविराज, २२ चैत्र । सप्तरीको सदरमुकाम राजविराज स्थित दुई व्यापारीको घरमा मंगलबार बिहान बम फेला परेको छ ।

राजविराज ४ स्थित कल्टुदास पोखरी नजिकै रहेको विनोद कुमार चौधरी र राजविराज ५ स्थित छोटु भन्ने रविन्द्र यादवको घरमा सकेट बम फेला परेको हो ।

घरको मुल गेटमै रहेको बम चौधरी परिवारले बिहान साढे ६ बजे थाहा पाएका थिए । भने यादव परिवारले करिव ९ बजे मात्रै थाहा पाएका थिए । बमसँगै भुमिगत गतिविधि गर्दै आएको जयकृष्ण गोईत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चा समेत फेला परेको प्रहरीले जनाएको छ ।

नेपाली सेनाको राजविराज स्थित कृष्ण दल गणको प्राविधिक टोलीले दुवै स्थानको बम राजविराज ४ स्थित खाली मैदानमा लगेर निस्कृय गरेको छ ।

मोर्चाका संयोजक जयकृष्ण गोईतले प्रेस विज्ञप्ति जारी गरी चुनाव केन्द्रित कारवाही सुरु गरिएको जनाएका छन् । चुनाव बिथोल्न चन्दा माग्दा नदिएको र चन्दा माग्न पठाएका कार्यकर्तालाई प्रहरी लगाएर पक्राउ गर्ने षडयन्त्र गरेपछि दुवै जनाको घरमा बम राखिएको विज्ञप्तिमा उल्लेख छ ।

बम फेला परेपछि राजविराजमा त्रासको वातावरण उत्पन्न भएको छ । यसअघि पनि मोर्चाले राजविराजका विभिन्न स्थानमा बम राखेर त्रास उत्पन्न गराउँदै आएको छ ।